काठमाडौँ । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ छ।
ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरूले जलवायु उत्थानशीलताका लागि नवीनतम् र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायबारे छलफल गर्ने आयोजकले जनाएको छ।
यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको हो। सम्मेलनमा विभिन्न विषयगत सत्रमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवीपत्र अर्थात् एड्भोकेसी पेपरसमेत जारी गरिनेछ।
सम्मेलनको दौरान सीएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआइवाइइएफजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन्। सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ।