पन्जाब किंग्स इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्ससंग १५ रनले पराजित भएको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि लियाम लिभिङस्टोनको प्रयास असफल भयो ।

धर्मशालामा भएको खेलमा पन्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्‍यो । दिल्लीले २० ओभरमा मात्र २ विकेटको नोक्सानीमा २ सय १३ रनको योगफल बनायो । यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीको इनिङसमा कप्तान डेविड वार्नरले ४६ रन जोडे । पृथ्वी शअले ५४ रन थपे । राइली रस्सोलाई रोक्न नसक्दा पन्जाबले विशाल लक्ष्य पाएको हो । उनले ३७ बलमा ६ चौका र ६ छक्काको मद्दतमा अविजित ८२ रन बनाए । फिल साल्टले १४ बलमा २६ रन जाडे । साम करनले २ विकेट लिए ।

जवाफमा पन्जाबले ८ विकेटको क्षतिमा १ सय ९८ रन मात्र बनाउन सक्यो । ओपनिङ साझेदारी राम्रो हुन नसक्नु र तल्लो क्रमका ब्याटर सस्तैमा पभेलियन फर्किनु पन्जाबको हारको मुख्य कारण रह्यो । कप्तान शिखर धवन गोल्डेन डक आउट हुँदै पभेलियन फर्किए । प्रभ सिमरन २२ रनमा आउट भए । तेस्रो विकेटका लागि लिभिङस्टोन र अथर्व टायडेले ७८ रनको साझेदारी गर्दै आश जगाएका थिए । अथर्व ५५ रनमा रिटार्ड हर्ट भए । त्यसपछिका ४ ब्याटरले दोहोरो रन छुन नसकेपछि दिल्ली खेलमा फर्कियो । लिभिङस्टोनले एकतर्फी संघर्ष गर्दै ४८ बलमा ९४ रनको उत्कृष्ट इनिङ्स खेलेपनि पन्जाबको जितका लागि पर्याप्त भएन । इशान्त शर्मा र एनरिक नोर्त्जेले २ – २ विकेट लिए ।

यो हारपछि पन्जाब प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । आठौं स्थानमा रहेको उसको १२ खेलबाट १३ अंक छ । अब पन्जाबले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ । आईपीएलमा आज बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोर बीच खेल हुनेछ ।

14
Shares
४ जेष्ठ २०८०, बिहीबार ०७:४५