महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ ।
महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो ।त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।
मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताए ।प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताए ।
महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिए ।