काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा फर्किएको छ। बिहीबार च्यासल मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा आफूलाई कायम राखेको हो।

जावलाखेलले चर्च ब्वाइज समान ३० अंक बनाएपनि चर्चले एक खेल कम खेलेको छ। फ्रेन्ड्स १९ अंक सहित तालिकाको ११ औं स्थानमा रहेको छ। खेलमा जावलाखेलले २० औं मिनेटमा राहुलको गोलमार्फत अग्रता लिएको थियो। त्यसको ६ मिनेट पछिनै एनकोटो मासाबीले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए।

पहिलो हाफमा २-० को अग्रता बनाएको जावलाखेलले ६३ औं मिनेटमा अग्रता थप फराकिलो पार्यो। मासाबीले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई ३–० को अग्रता दिलाउँदा ७९ औ मिनेटमा फ्रेन्ड्सले १ गोल फर्काएको थियो। उसका लागि श्याम बाबु कक्षपतीले गोल गरेका थिए। तर इन्जुरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई फराकिलो जित दिलाए।

जितसँगै उपाधि होडमा जावलाखेल आफ्नो दाबेदारी कायम राखेको छ। फ्रेन्ड्समाथि भने रेलिगेशनको डर अझैपनि यथावत रहेको छ।

21
Shares
२९ बैशाख २०८०, शुक्रबार ०६:३८