सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री जीवन परियारले अदालतको फैसलापछि मात्रै खाणको विषयमा पार्टीले निर्णय लिने बताए।
कुनै पनि व्यक्ति पक्राउ पर्नवित्तिकै दोषी नहुने भन्दै अनुसन्धानपछि अदालतको निर्णयअनुसार नै कांग्रेस अघि बढ्ने परियारले बताए।‘हामीले अहिले औपचारिक निष्कर्ष निकालेका छैनौँ। अनुसन्धानको क्रममा पक्राउ पर्नेवित्तिकै दोषी हो भनेर भन्न मिल्दैन। अभियुक्तको रुपमा मात्रै लिन सकिन्छ। अदालतबाट फैसला भइसकेपछि, निर्णय आइसकेपछि मात्रै उ दोषी ठहरिने हो,’ उनले भने, ‘अदालतले भोलि जे ठहर गर्छ त्यो कुरा हामी सधैंभरि मान्न तयार छौँ।’
नेपाली कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनको भनाइ थियो। ‘कांग्रेस पार्टी कहिल्यै पनि दोषीलाई उम्काउने पक्षमा छैन। अनुसन्धानमा सत्यतथ्य छानबिन गरियोस्। अनुसन्धानलाई प्रभावित नपारियोस्,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्याउने कुरामा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीको एकमत छ।’