राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।
कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायत बोर्डका केही कर्मचारीले विद्यालयहरूलाई अंग्रेजीमा पनि परीक्षा दिन पाउने बताएका कारण झनै विवाद देखिएको एक शिक्षकले गुनासो गरे ।पाठ्यक्रम, पाठ्यपुस्तक, माध्यम भाषा तय गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले पाएको छ । बोर्डका कर्मचारीले निजी विद्यालयको दबाबमा नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएको आरोप शिक्षकहरुले लगाएका छन् ।
गत वर्षको परीक्षामा अंग्रेजी माध्यममा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिकालाई पनि बोर्डले मान्यता दिँदै आएको छ ।