काठमाडौंको बानेश्वरमा भेला भएका किरात समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजासहित प्रदेश नामकरणको विरोध गरेका हुन् । सबैले आफ्नो सांस्कृतिक पोसाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । सञ्चारकर्मीसँग किरात राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उभौली मनाइएको प्रतिक्रिया दिए ।
उनले संघीयताको मर्मविपरीत कोशी प्रदेश नामकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुसीसाथ उभौली पर्व मान्न नसकेको दाबी गरे । ‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरुलाई बहिष्करण गर्यो । यसको पहिचानलाई स्वीकारेन । १ नम्बर प्रदेशमा संघीयताको मूल मर्मअनुसार प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानका आधारमा नामकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौं,’ उनले भने, ‘१ नम्बर प्रदेशमा पहिचानका आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौं तर त्यहाँ रातारात केन्द्रको ठूला दलहरुका शीर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो । पहिचानको विरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौं । हामी पीडामा छौं ।’कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानका आधारमा पुनः नामकरण गर्न उनले माग गरे ।