पूर्वराजा शाहले नेपालगञ्जजस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्त्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि बताए।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मरण पनि पूर्वराजा शाहले गरेका थिए। उनले भने- ‘त्यो हाम्रो गौरवको विषय हो। हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरबको गति हामीले सदा राख्नुपर्दछ। हाम्रो यही मान्यता हो ।’ नेपालगञ्जमा पाइला टेकेपछि आफूलाई आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आएको पनि उनले बताए।‘अस्ति सोमबार साँझ म देवीभगवतीबागेश्वरीको सन्ध्याआरतीमा संलग्न भए। मलाई अन्तरआत्मा देखि नै अपार आनन्दको अनुभूति भयो । त्यहाँ तपाईहरू नेपालगञ्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो,’ उनले सम्बोधनका क्रममा भने।
उनले चौसठ्ठीबर्ष अघि यही भूमीमा उभिएर राजा महेन्द्रले नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको स्मरण पनि गरे। ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामोअवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ।’उनले आफ्नो नारा जहिले पनि देश बनाउँ— देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताए। नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकिरहेको पनि पूर्वराजा शाहले स्मरण गरे। ‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो — तर बिडम्बना भन्नुपर्छ — हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको छ,’ उनले भने।
विक्रम सम्बतको दुई हजारको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधिप्रकृयाका कामहरू भएको स्मरण पनि उनले गरे। महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास –शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन,भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वबिद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनीविकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि भएको पनि पूर्वराजा शाहले स्मरण गरे।