काठमाडौँ । नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ ।

गणेश पाण्डे निर्देशित वृत्तचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबल एकलाख अमेरिकी डलर (नेपालीमा एक करोड तीस लाख नेपाली रुपैयाँ बराबर) को पुरस्कार हात पारेको हो ।

मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो ।

अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली वृत्तचित्रले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’ निर्देशक पाण्डेले भने ।

निर्देशक पाण्डेलाई आगामी वृत्तचित्रको परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ वृत्तचित्र फिल्म दर्शकलाई पस्कन आफूलाई मद्दत मिल्ने पाण्डेले बताए ।

49
Shares
१९ बैशाख २०८०, मंगलवार २०:५९