युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ६७ रन बनाए भने भीम सार्कीले ३६ रन बनाएका थिए । त्यसअघि नेपालले लगातार तीन विकेट गुमाउँदा नेपाल दबाबमा आएको बेला गुलशन झा र भीम सार्कीले शानदार अविजित ९६ रनको साझेदारी गरेका हुन् ।
२२ रन बनाएर २ विकेट गुमाएको अवस्थाबाट गुलशन र भिमले धैर्यतापूर्ण ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए । त्यसअघि नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए । युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिए भने आयान अफजल खानले एक विकेट लिएका छन् ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको थियो । सोमबार वर्षाले खेल रोकिएपछि आज सुरु भएको खेलमा युएईले केवल ११ रन जोडेर आफ्नो अन्तिम विकेट गुमाएको थियो ।
युएईका ब्याट्सम्यान जुनैद सिद्दिकीले १०, आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए । नेपालका लागि ललित राजबंशीले सर्वाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका थिए ।विजेता नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको छ । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।