जनक शिक्षा सामग्री केन्द्रले अंग्रेजी माध्यमको पाठ्यपुस्तक छपाइ सुरु भएकाले जेठ मसान्तसम्म विद्यार्थीलाई उपलब्ध गराउने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले अंग्रेजी माध्यमको पुस्तकको छपाइ प्रति तयार गरेर जनक शिक्षालाई उपलब्ध गराएको जनाए ।सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ सम्म नेपाली माध्यमका पाठ्यपुस्तक निःशुल्क वितरण गर्दै आएको छ । अंग्रेजी माध्यमका छपाइ हुन नसक्दा विद्यार्थीले निजी प्रकाशनबाट किन्नुपर्ने अवस्था थियो ।
निजी प्रकाशनका पुस्तक सरकारले उपलब्ध गराउनेभन्दा महँगो भएकाले विद्यार्थी, अभिभावकले थप मूल्य तिर्नुपर्थ्यो । अंग्रेजी माध्यमका ४५ हजार सेटभन्दा बढी पुस्तक आवश्यक हुने अनुमान गरिएको छ ।पाठ्यक्रम विकास केन्द्रले कक्षा १–१० मा नेपाली र अंग्रेजी विषय यथावत रहन्छन् भने यसबाहेक नेपालीमा रहेका पाठ्यपुस्तकलाई अंग्रेजी अनुवाद गरी उपलब्ध गराउन लागेको हो ।
कक्षा १–३ मा ‘मेरो गणित’ र ‘हाम्रो सेरोफेरो’, कक्षा ४–८ मा गणित, विज्ञान तथा प्रविधि, सामाथिक अध्ययन तथा मानव मूल्य शिक्षा र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अंग्रेजीमा अनुवाद गरिएका छन् ।
त्यस्तै कक्षा ९–१० को गणित, विज्ञान प्रविधि र सामाजिक अध्ययन विषय अंग्रेजीमा अनुवाद गरिएका छन् ।
शिक्षा सचिव रामकृष्ण सुवेदीले यो वर्ष छपाइदेखि वितरणको काम समयमै भएकाले विद्यार्थीले भर्नाकै बेला पाठ्यपुस्तक पाएको जनाए ।
सुवेदीले गत वर्ष कक्षा १–५ को पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेका थिए ।
जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले पाठ्यपुस्तक छपाइका लागि क्षमता विस्तार गरिएको बताए । ‘कक्षा १–१२ का पाठ्यपुस्तक जनक शिक्षाले छाप्न सक्छ,’ उनले भने, ‘सरकारबाट अनुमति पाएपछि आगामी वर्षका लागि जेठदेखि नै पुस्तक छाप्ने काम सुरु गर्छौं ।’
विगतका वर्षमा समयमै विद्यार्थीले पाठ्यपुस्तक नपाएपछि कक्षा ६ देखि १२ सम्ममात्र जनक शिक्षालाई छाप्न दिइएको थियो ।