राजविराजस्थित मधेस कृषि विश्वविद्यालयले कृषि, पशु, माछा र खाद्य विज्ञानमध्ये कृषि विज्ञानको पठनपाठन सुरू गर्न तयारी अन्तिम चरणमा पुर्याएको छ । यस विधामा चार बर्षे बीएसीएजीको पठनपाठन सुरु हुन लागेको हो । ५० जना विद्यार्थी भर्ना गर्न आवेदन माग भएकोमा झण्डै तीन सयले आवेदन दिएका थिए । समानुपातिक समावेशी ढंगले भर्ना प्रक्रिया पूरा गर्दै विश्वविद्यालयले पठनपाठनतर्फ अघि बढेको जनाएको छ ।
कृषि विश्वविद्यालयको आफ्नो भवन नहुँदा हाललाई केअ माविको शैक्षिक तालिम केन्द्रको भवन भाडामा लिएर कक्षा सञ्चालन गरिने भएको छ । दरबन्दी तोक्ने काम भई नसकेकाले तत्काललाई प्राध्यापकहरूको करार भर्ना प्रक्रिया सुरु भइसकेको र सङ्गठनात्मक संरचना निर्माण गरी आगामी सिनेट बैठकबाट दरबन्दी तोक्न स्वीकृत गरिने विश्वविद्यालयले जनाएको छ ।हाल विश्वविद्यालय रहेको भवनको भाडा वार्षिक ३ लाख र कक्षा सञ्चालनका लागि लिएको शैक्षिक तालिम केन्द्रको भाडा वार्षिक २ लाख ६२ हजार छ । विश्वविद्यालयको भवन निर्माणका लागि जग्गा नै नभएको भने होइन ।
राजविराज नगरपालिकाको विषहरियामा सरकारले दिएको २६ विघा जग्गामा भौतिक पूर्वाधार निर्माणको काम चाँडै सुरु गर्ने योजना विश्वविद्यालयको छ ।कृषि विश्वविद्यालय मधेस प्रदेश सरकारको ठूला योजना मध्येको एक हो । कृषिमै निर्भर रहेको मधेश प्रदेशमा कृषि विषयको विशेषज्ञ तहको पठनपाठन सुरु हुनु सकारात्मक पक्ष हो ।