लुम्बिनी । तपाईँलाई लाग्न सक्छ- लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन र शिक्षाको मात्रै पढाइ हुन्छ । तर होइन, पछिल्लो समय यस विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षा जोडेर व्यावसायिक शिक्षा पनि पढाउन थालेको छ । जसले विश्वविद्यालय फराकिलो बन्दै छ ।

बौद्ध दर्शनको सही व्याख्या र चरित्र निर्माण गर्ने शिक्षा दिन भन्दै बौद्ध देशहरूको तीव्र माग र दबाबले लुम्बिनी बौद्ध विश्वविद्यालय खुलेको हो । बौद्ध दर्शन, साहित्य, संस्कृतिको खोज, अध्ययन, अनुसन्धान र विस्तार गर्नु यस विश्व विद्यालयको मुख्य उद्देश्य छ ।

यद्यपि पछिल्लो समयमा घरघरमा बौद्ध शिक्षा पुर्‍याउन भन्दै यस विश्वविद्यालयले स्‍नातकोत्तर तहमा डिजास्टर रिक्स एन्जीनियरीड एण्ड म्यानेजमेण्ट र कन्स्ट्रक्सन इन्जीनियरिड एण्ड म्यानेजमेन्ट र स्‍नातकमा टुर एण्ड ट्राभल र कानुनजस्ता विषयसमेत पढाउन थालेको छ ।

विसं २०५५ मा आयोजित प्रथम विश्व बौद्ध शिखर सम्मेलनको प्रस्तावमा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सुरु हुन एक दिनअघि २०६१ सालमा अध्यादेशमार्फत विश्वविद्यालय स्थापनाको घोषणा भएको थियो ।

विश्वविद्यालयले  विस. २०६७ देखि काठमाडौंमा विद्यावारिधि र २०७० देखि केन्द्रीय क्याम्पस लुम्बिनीमा थेरावाद, महायान, बज्रयान र एप्लाइड विषयमा बौद्ध दर्शन पढाउन थालेको हो ।

हाल काठमाडौं, बुटवल, देवदह र लुम्बिनीमा स्नातक र स्‍नातकोत्तर तह संचालन गरेको लुम्बिनी विश्वविद्यालयमा करिब १ हजार ४ सय ८ विद्यार्थी छन् । अब छिटै तिलौराकोटमा पढाइ सुरु गरिँदै छ ।

विश्वविद्यालयका ८ वटा सम्बन्धनप्राप्त र ३ वटा सहकार्यमा सञ्चालित क्याम्पस छन् । लुम्बिनीमा १ वर्षे प्रमाणपत्र तहका बौद्ध भाषा साहित्यका कक्षा समेत चलेका छन् ।

पढाइ पूरा गर्नासाथ झन्डै ९० प्रतिशत विद्यार्थी रोजगारीमा जोडिएका छन् । यसले उत्साहित विश्वविद्यालयले खोज अनुसन्धानलाई बढाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगसमेत जुटाउन थालेको छ ।

बुद्ध दर्शन फराकिलो विषय हो । बुद्ध दर्शनमा टेकेर विद्यार्थीको चाहना र आवश्यकता अनुसार स्वदेशी र विदेशी बजारमा टिक्ने र बिक्ने व्यावसायिक विषय पढाउने हो भने बुद्धजन्मस्थलमा खुलेको लुम्बिनी विश्वविद्यालय स्वदेशी मात्र होइन विदेशी विद्यार्थीका लागि पनि आकर्षणको केन्द्र बन्ने छ ।

77
Shares
१५ बैशाख २०८०, शुक्रबार १३:१९