उनले गाउँघरमा मिटरब्याजीबाट किसान, मजदुर पीडित रहेको र सहरमा अर्को रूपमा त्यसको समस्या रहेको बताउँदै त्यसको समाधानका लागि सरकार लागिरहेको बताए ।
उनले केही समय अघि आफूले स्वयं सर्लाही जिल्लामा मिटर ब्याज पीडितका लागि आन्दोलनको नेतृत्व गरेको स्मरण गरे । उनले पीडितलाई लिएर मिडियाका सम्पादकको ढोकामा पुगेको बताउँदै तत्कालीन गृहमन्त्री, प्रहरी प्रमुखलाई भेटेर सर्लाहीका केही मिटर ब्याज पीडितलाई न्याय दिन सकेको बताए ।उनले देशव्यापी रूपमा यो समस्या रहेको बताउँदै समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।
उनले मिटर ब्याज पीडितलाई न्याय दिनका लागि कानुन संशोधनको प्रक्रिया छिट्टै संसद्मा अघि बढ्ने जानकारी गराए । मिटरब्याजीलाई ठगीको अर्को रूपमा परिभाषित गर्न केही द्विविधा रहेकोले मिटर ब्याजको स्पष्ट व्याख्या गरेर कानुन बनाउन मन्त्रिपरिषद्ले विधेयक पारित गरिएको जानकारी गराए ।उनले मिटर ब्याजलाई अनुचित लेनदेनको विषयको रूपमा परिभाषित गरिएको जानकारी गराए ।