काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियनमाथि ५५ रनको सानदार जित निकालेको छ ।

गएराति अहेम्दावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा भएको खेलमा गुजरातले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रनमा समेटियो ।

मुम्बईका कप्तान रोहित शर्मा सुरुवातमै २ रन बनाएर आउट भए । अर्का ओपनर इशान किशानले पनि राम्रो सुरुवात गर्न सकेनन् । उनी २१ बलको सामना गर्दै १३ रन बनाएर क्याचआउट भए । तेस्रो नम्बरमा आएका क्यामरोन ग्रिनले केही सम्हालिएको प्रदर्शन गर्दै ३३ रनको योगफल बनाए । नेहाल वाधेराले सर्वाधिक ४० रन बनाए । २१ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे । पियुस चावलाले १८ र सूर्यकुमार यादवले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा मुम्बई सस्तै रनमा समेटिन पुग्यो ।

घरेलु टोली गुजरातका नुर अहमदले सर्वाधिक ३ रन लिए भने मोहित शर्मा र रशिद खानले समान २–२ विकेट लिए । हार्दिक पान्डेयको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो । ओपनर हृद्धिमन साह ४ रन बनाएर सस्तैमा पभेलियन फर्किए पनि शुबमन गिलले राम्रो सुरुवात गर्दै अर्धशतक पूरा गरे । गिलले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

डेभिड मिलर र अभिनव मनोहरले गुजरातको बलियो स्कोर खडा गर्न महत्वपूर्ण भूमिका खेले । मिलरले ४६ रन बनाए । उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे । मनोहरले ४२ रन बनाउने क्रममा २१ बलको सामना गरे । उनले ३ चौका तथा ३ छक्का प्रहार गरे ।

राहुल तेवातियाले अविजित २० रन बनाए भने विजय शंकरले १९ रनको योगदान दिए । यस्तै कप्तान हार्दिक पान्डेयले १३ रन बनाएर क्याचआउट भए ।

मुम्बईका पियुस चावलाले २ विकेट लिए भने अर्जुन तेन्डुलकर, जासन बेह्रेन्डोर्फ, रिलेय मेरेदिथ र कुमार कार्तिकेयले १–१ विकेट लिए ।

यो जितसँगै तालिकाको चौथो नम्बरमा रहेको गुजरातले १० अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएको चेन्नई नेटरन रेटको आधारमा शीर्ष स्थानमा छ । मुम्बई भने महत्वपूर्ण २ अंक जोड्नबाट चुक्यो । जसका कारण ६ अंकसहित सातौँ स्थानमा छ ।

63
Shares
१३ बैशाख २०८०, बुधबार ०७:२६