काठमाडौं । कीर्तिमानी ८ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो हार ब्यहोर्दै अर्को खराब इतिहास बनाएको छ । लिगको एघारौं चरणमा मनाङलाई खुमलटार युथ क्लबले दुई एक गोलले पराजित गरेको हो ।

घरेलु फुटबलको इतिहासमा मनाङले लगातार चौथो खेल हारेको यो पहिलो पटक हो । यसअघि २०६६-६७ को लिगमा मनाङले लिगमा लगातार तीन खेल हारेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंथशालामा १३औं मिनेटमा मेसुके ओलोमेउले गोल गरेपछि मनाङपछि परेको थियो । ५३ औं मिनेटमा कोफी टिमोथीले पेनाल्टीमा गोल गर्दै मनाङलाई खेलमा फर्काए ।

६१औं मिनेटमा कोफीले पेनाल्टी चुकाएपछि मनाङले अग्रता बनाउन सकेन । इन्जुरी समयमा मेसुकेले दोस्रो गोल गरेपछि मनाङ खुमलटारसँग स्तब्ध भएको हो ।

दुई गोलसँगै मेसुके सर्वाधिक गोलकर्ताको शर्ष स्थानमा उक्लिए । उनको लिगमा ९ गोल भएको छ । तीन अंकसहित खुमलटार तालिकाको एघारौं स्थानमा उक्लिएको छ ।

पराजित मनाङ भने १५ अंकसहित सातौं स्थानमा झरेको छ । यसअघि मनाङ- सातदोबाटो, जावालाखेल युथ र त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।
49
Shares
१० बैशाख २०८०, आईतवार ०८:१४