त्यस्तै, अर्को खेलमा लगातार १० खेलसम्म अपराजित रहेको चर्च ब्वाइज जावलाखेलसँग १–० ले पराजित हुँदै ११ औँ खेलमा आफ्नो अपराजित यात्राको अन्त्य गर्न बाध्य भएको छ।
शनिबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान १–१ गोल गरे। फ्रेन्ड्सका राफिक अमिनुले एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त भएन। खेलको ४५ औँ मिनेटमा ग्याल्सेनले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। जारी लिगमा उनको यो पहिलो गोल हो।पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले खेलको ६३ औं मिनेटमा अग्रता दोब्बर बनायो। तर ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि त्यसपछि थप गोल हुन नसक्दा मछिन्द्रले पछिल्ला दुई खेलमा गुमाएको लय पुन समाउन सफल भयो। जितपछि मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ।
त्यस्तै, शनिबार नै भएको अर्को खेलमा चर्च ब्वाइजको १० खेलसम्मको अपराजित यात्रा जावलाखेल युथ क्लबले अन्त्य गरेको छ। शीर्ष स्थानमा रहेको जावलाखेलले आफ्नो अविश्वसनिय प्रदर्शन जारी राख्दै शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनायो। पराजयका बाबजुत चर्च ब्वाइज १८ अङ्कका साथ दोस्रो स्थानमा कायम छ।जावलाखेलको जितमा एनकोटो मोसाबीले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६५ औं मिनेटमा मोसाबीले एकल प्रयासमा टिमलाई अग्रता दिलाएका थिए। मैदानको मध्य भागबाट एक्लै अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट गरेको लेफ्ट फुटेट सट चर्च ब्वाइजका गोलरक्षकले प्रिसोले रोके पनि टाङमुनिबाट छिर्दै जाली चुमेको थियो। मोसाबीको यो लिगमा नवौं गोल हो।
जावलाखेलको यो जारी लिगमा सातौं जित हो। जावलाखेलले ११ खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ। चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।