काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरुले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरुले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकिर थियो।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरु कतिमा बिकेभन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरुले नबुझेकोसमेत बताए। ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबीसमेत गरे।

उनले भने, ‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन है। प्रचण्ड कहाँबाट गएका? यही कम्युनिष्ट पार्टीबाट ऐझेरु पलाएझैं पलाएको त हो नि। २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो। दुई तिहाई पुर्‍यायौँ, हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर। पार्टी एकता र एकीकरण गरेर। तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नुभएन।

र, उनीहरु बिके। यत्तिकै उनीहरुले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। कुनै कारणबिना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला! सस्तो मुल्यमा। के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स–साना कुराहरु हामी पनि देख्छौँ। तर भित्री कुरा हामीलाई थाहा छैन।’

ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणीसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु