अवैध सुन बोकेर केही व्यक्ति हिँडिरहेको भन्ने सूचनाका आधारमा बाँके प्रहरीले नेपालगन्जको न्युरोडमा रहेको न्यु इन्द्रेणी होटेलबाट विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुले बोकेको झोलाबाट प्रहरीले ४ किलो ९२९ ग्राम तौलका सिक्री, माला, बालालगायत गहना फेला पारेको प्रहरीले जनाएको छ ।
सुन बिक्री गरेको बिल, एनआईसी एसिया बैंकमा सात लाख ३३ हजार चार सय रुपैयाँ जम्मा गरेको भौचर र प्रकाश ठाकुरको नामा काटेको तीन लाख ८६ हजार ४ सय रुपैयाँको एनएमबी बैकको चेक र नगद ३५ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवै जनासहित सुन थप छानबिनका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए ।