दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रलाई पराजित गर्न एपिएफले पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। मछिन्द्र विरुद्ध राम्रो लयमा देखिएको एपिएफले ३९ औ मिनेटमा अर्मान्ड विडोमको गोलबाट अग्रता लिएको थियो। मछिन्द्रले पनि एपिएफ विरुद्ध गोलका केहि आकर्षक अवसर चुकाएको थियो।
चेन्चो ग्याल्सेन र विमल घर्ती मगरले पाएका केहि राम्रो मौकामा चुक्दा पहिलो हाफमा मछिन्द्र गोलविहीन बनेको थियो। दोस्रो हाफमा पनि मछिन्द्रले एपिएफ विरुद्ध गोलको खडेरी तोड्न सकेन। त्यसोत एपिएफले अग्रता दोब्बर बनाउने अवसरको सदुपयोग गर्न नसकेपनि त्यसको मुल्य चुकाउनु परेन। जितसँगै एपिएफ १० खेलबाट १४ अङ्क जोडेर आठौं स्थानमा रहँदा १३ अङ्कका साथ मछिन्द्र नवौं स्थानमा रहेको छ।बुधबार नै च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिस माथि ६–१ को एकतर्फी जित निकाल्यो। जावलाखेलको जितमा एनकोटो मेसोबी र हिसुब थपलियाले समान २–२ गोल गर्दा फोडे फोफना र अब्दुलअजिजले १ गोल फर्काएका थिए। पुलिसका लागि मोसेसले एक गोल फर्काए।
पुलिस विरुद्ध सुरुवातबाटै राम्रो लयमा देखिएको जावलाखेलले पहिलो हाफमा १ गोल गर्दा बाँकी ५ गोल दोस्रो हाफमा गरेको थियो। खेलमा पुलिस २८ औं मिनेटमानै १० खेलाडीमा सामेटिएको थियो। एन्कोटो मेसोबीको हेडरलाई कप्तान रामचन्द्र वाजीले गोललाइमा हातले रोकेपछि सिधै रातो कार्ड पाएर उनले मैदान छाडेका थिए। उक्त ह्यान्डपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै फोफनाले जावलाखेललाई अग्रता दिलाए।दोस्रो हाफमा लगातार गोल वर्षा गरेको जावालखेलले ५१ औं मिनेटमा हिसुबले अग्रता दोब्बर पारे। ६५ औं मिनेटमा मेसोबीले गोल गरेपछि जावलाखेल ३–० ले अघि रह्यो। ७२ औं मिनेटमा मेसोबीले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा ८२ औं मिनेटमा हिसुबले ब्यक्गित दोस्रो गोल गर्दै टिमलाई ५–० को फराकिलो अग्रतामा पुर्याए। ८८ औं मिनेटमा मोसेसले पुलिसका लागि सान्त्वाना गोल फर्काए। इन्जुरी समयमा अब्दुलअजिजले गोल गर्दै जावलाखेलाई ६–१ को फराकिलो जित दिलाएका थिए।