काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा युएईले विजयी सुरुवात गरेको छ। बुधबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा युएईले कुवेतमाथि १४३ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले दुई खेलाडीको सानदार शतकीय इनिङमा कुवेत समक्ष ३७१ रनको विशाल स्कोर प्रस्तुत गरेको थियो। जवाफमा कुवेत ३६.३ ओभरमा अलआउट हुँदै २ सय २८ रनमा समेटियो। कुवेतका लागि प्रभिन्दर कुमार र सयद मोनिबले विष्फोटक अर्धशतक प्रहार गरेपनि टिमको फराकिलो हार टार्न भने सकेनन्।

कुमारले २६ बलमा ५३ रन बनाएर आउट हुँदा मोनीबले ३६ बलमा ६८ रनको अर्धशतकीय इनङ खेलेका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। युएईका लागि जुनाइद सिद्दीकी र कार्थिक मियापानले समान ३(३ विकेट लिए।

त्यसअघि टियू मैदान कीर्तिपुरमा युएईले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रन बनाएको थियो। उसका लागि भृत्या अरविन्द र रोहन मुस्ताफाले सानदार शतकीय इनिङ खेले।

यी दुइबिच २ सय ७५ रनको साझेदारी भएको थियो। २४ रनको अवस्थामा तीन विकेट गुमाएको युएईका लागि अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १८५ रन बनाउँदा मुस्ताफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए। त्यस्तै आसिफ खानले ३० रन बनाए।
35
Shares
६ बैशाख २०८०, बुधबार १७:२७