दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले तनहुँमै मतदाताका घरदैलो पुग्छन् । उनको बिहानदेखि बेलुकीसम्मको कार्यसूची मतदाताको घरमा पुग्ने र गोविन्द भट्टराईलाई मत माग्ने हो ।

चैत २० गते मनोनयन दर्ता हुँदा अर्का महामन्त्री गगन कुमार थापा तनहुँ आएर कोणसभा गरेका थिए । थापा अहिले पनि तनहुँमै छन् । उनी पनि विश्वप्रकाश जस्तै मतदाताको घरघर पुग्न थालेका छन् ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला केही दिन तनहुँ बसेर फर्किएका छन् । कांग्रेसले केन्द्रीय सदस्य र पदाधिकारीहरू तनहुँमा खटाएको छ । ‘मेरो जिम्मा व्यास १ मा परेको छ । मतदाताहरू भेटेको छु । गोविन्द भट्टराईलाई त चिनाउनुपर्ने रहेनछ,’ सहमहामन्त्री जीवन परियार भन्छन्, ‘उहाँले विगतमा गर्नुभएको कामलाई हेरेर भोट दिने मतदाताको आश्वासन छ ।’

दैनिक १५ भन्दा बढी केन्द्रीय सदस्य तनहुँका टोलटोलमा हिँडेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसमा अध्यक्ष माधव कुमार नेपालले बुधबार डुम्रेमा सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी महासचिव देवप्रसाद गुरुङ लगायत नेताहरूले व्यासमा सम्बोधन गरे ।

42
Shares
६ बैशाख २०८०, बुधबार ०९:१८