सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्काे नारा लगाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन् ।
सोमबार (हिजो) काठमाडौँको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु मध्ये केही घाइतेसमेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए ।उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।
मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारले बनाएको छानविन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो छ ।