वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ ।
तीनै तहका सरकारले एकै साथ अभियान सञ्चालन गरेका हुन् । विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा हुनुपर्छ भन्ने मान्यताका साथ सरकारले भर्ना अभियानलाई प्राथमिकतामा राखेको हो ।सरकारले २०६१ सालदेखि हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले निकै तामझामका साथ अभियान सञ्चालन गरे । उनले मुगुको मुगुम कार्मारोङ गाउँपालिकाकी थिल्ने साङ तामाङलाई पढाउने जिम्मा लिएका थिए । उनले थिल्नेको सम्पूर्ण पठनपाठनको जिम्मा लिँदै अभिभावकत्व ग्रहणसमेत गरेका थिए । त्यो बेला विद्यार्थी भर्ना अभियान पूरै राजनीतिमय बनेको थियो ।
सरकारले हरेक वर्ष लाखौं रुपैयाँ खर्च गरेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । अहिले त झन् स्थानीय तह र प्रदेश सरकारले समेत अभियानलाई प्राथमिकतामा राख्दै आएका छन् ।
सरकारहरू तामझामका साथ अभियान चलाइरहेका बेला त्यसको नतिजा भने निराशाजनक छ । महालेखापरीक्षकको ६० औं प्रतिवेदनले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको देखाएको छ । पछिल्लो ४ वर्षको अवधिमा सामुदायिक विद्यालयमा २०.१४ प्रतिशतले विद्यार्थी घटेको देखिएको छ ।
शैक्षिक सत्र २०७४ को तुलनामा २०७८ मा कुल विद्यार्थी संख्या ८.७७ प्रतिशतले घटेको हो । तीमध्ये सामुदायिक विद्यालयमा २०.१४ प्रतिशतले घटेका हुन् । निजी विद्यालयमा भने २०७४ को तुलनामा २०७८ मा ४७.५५ प्रतिशतले बढेको देखिएको छ । आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) कुल विद्यार्थी भर्ना संख्या बर्सेनि घट्दै गएको देखिएको हो ।