राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दलीय भागवण्डा गरेर संबैधानिक निकायका प्रमुखको नियुक्ति गर्ने परिपाटीले मुलुकमा बेथिति बढेको टिप्पणी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका लिङ्देनले प्रधानन्यायाधीश, अख्तियार प्रमुख र त्रिभुवन विश्वविद्यालयका कुलपति जस्ता महत्त्वपूर्ण पदमा योग्यता र क्षमताका आधारमा नियुक्त नभएसम्म समस्या समाधान नहुने औंल्याए ।

आइतबार पाँचथरको सदरमुकाम फिदिम आइपुगेका लिङ्देनले राप्रपा पाँचथरद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै भागबण्डा नमिलेकै कारण न्यायालयसहित प्रायः संवैधानिक अंगहरू नेतृत्वविहीन हुन पुगेको टिप्पणी गरे ।

१० वर्षसम्म सशस्त्र क्रान्ति गरेर पटक पटक सरकारको नेतृत्वमा पुगेको माओवादी पनि सत्तालिप्साको दलदलमा फसेकाले मुलुकको अवस्था फेर्न व्यवस्था नै परिवर्तन हुनुपर्ने उनको जोड थियो ।

लिङ्देनले राज्यकोषमा रहेको रकमले कर्मचारीको तलब भत्ता धान्न नसक्ने अवस्थामा पुगेकाले देशको अवस्था बर्बादीतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘भाइ छोरा बेचेर आर्जेको रेमिट्यान्सले मुलुक धानिरहेको छ, यो अवस्था कहिलेसम्म ?,’ लिङ्देनले भने, ‘दलका शीर्ष नेताहरूसँग देशलाई कसरी व्यवस्थित गर्ने दृष्टिकोण छैन, केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता छ, देश बर्बादीतर्फ जानुको एउटा कारण यो पनि हो । मुलुकलाई निकास दिन समस्त जनताले खबरदारी गर्नुपर्ने बेला भयो ।’

28
Shares
४ बैशाख २०८०, सोमबार ०९:१८