पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ ।
व्यापारीहरुले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो ।अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने मेयर नागेश कोइरालाले जानकारी दिए ।
सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सिसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकनसमेत गरेका छन् ।सिसी क्यामेरा जडानसहित पार्किङस्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङस्थलमा जाने नालीमाथि स्लाब राख्नेलगायतका कार्य सकिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।
महानगरले जलजला चोक पूर्व (साविक जुत्ता मेला लागेको ठाउँ) ग्रिनक्रस अस्पताल पछाडि, शनिमन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाटचोकस्थित वी प्लट, महावीर रोड र वी प्टलको बीचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, सन्सारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउण्डलाई पार्किङका लागि तयारी गरिसकेको छ । पार्किङस्थलमा अब कुनै समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।
शनिमन्दिरदेखि अस्पताल चोक, जलजलाचोकदेखि ट्राफिकचोक हुँदै सन्सारीमाईस्थान, महावीर रोड, गुद्री रोड, शनिमन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालयरोडलाई पार्किङ निषेध महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।