माग पूरा नभए वैशाख ११ गतेदेखि १४ गते सम्म विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा पहिचानवादी संगठनले गरेका हुन् ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको बैठकको उक्त निर्णय गरेको हो ।बैठकमा सहभागी प्रमुख घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भर्चुअल बैठकले उक्त निर्णय गरेको बताए ।
सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमका सन्दर्भमा पुनः स्मरण पत्र दिने जनाइएको छ । त्यसपछि पनि सुनुवाइ नभए आन्दोलन गर्ने निर्णय गरिएको हो ।वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए वैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।
इजमका अनुसार बैठकले सहिद पदम लिम्बु लाजेहाङको शवलाई वैशाख १५ गते भित्र ससम्मान अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।
त्यसअघि विराटनगर केन्द्रीत दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने बताइएको छ ।
आन्दोलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ‘पहिचानको लागि युवाः यूथ फर आइडेन्टिटी’ नामक युवा समूह गठन र परिचालनलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ ।