काठमाडाैँ – एसिसी प्रिमियर कप अघिको अभ्यास खेलमा नेपालले आफ्नो बलियो छविलाई कायम राखेको छ। शनिबार भएको खेलमा नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ।

टियु मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गर्दै ओमानले दिएको २ सय ४७ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए।

अर्जुनले सर्वाधिक ६७ रन बनाउँदा रोहित पौडेलले ५८ रन बनाउँदा रिटायर्ट हर्ट भएका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए। नेपालले ओपनिङमा देव खनाल र अर्जुन साउदलाई प्रयोग गरेको थियो।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। ओमानका युवा खेलाडी शोएब खानले १ सय १० रनका शतकीय अवजित इनिङ खेलेका थिए। त्यस्तै ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भएका थिए। नेपालका लागि किशोर महतोले ३ विकेट लिएका थिए। त्यस्तै प्रतिश जि।सी, सूर्य तामाङले समान २–२ विकेट लिएका थिए।

एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा रहेका छन्। एसिसी प्रिमियर कप मंगलबारदेखि सुरु हुँदै छ। १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्ने छ।

प्रतियोगिताको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन्। त्यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन्। नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ।

35
Shares
३ बैशाख २०८०, आईतवार ०८:१०