विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे ।

उनले भने, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न सकेको छैन ।”

नेता कोइरालाले नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गरे । श्रीलंका र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए ।

“तपाईंहरु आजैबाट नेपाल श्रीलंका हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, “श्रीलंका र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।”

कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए ।

49
Shares
२ बैशाख २०८०, शनिबार १८:५९