गृह मन्त्रालयमा बिहीबार भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै वार्ता भंग गरेको हो ।
सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।
‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले पाँच दिन वार्ता बस्यौं । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं,’ उनले भने, ‘उहाँहरुले हामी संवेदनशील भएका छौं भन्नुभएको छ । हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौं, उहाँहरुले त्यही कुरा राखिराख्नुभयो ।’प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप पनि लगाए ।