काठमाडौं । दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न अल्टिमेटम दिएका नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू सहभागी थिए ।

बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बार पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले बैशाख ३ गते संसदीय सुनुवाइ समिति बनाउने र ५ गते संवैधानिक परिषदको बैठक बेलाउने प्रतिबद्धता जनाएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न सरकारलाई अल्टिमेटम दिएको भोलिपल्ट बार पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
14
Shares
३० चैत्र २०७९, बिहीबार ११:५५