काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने रास्वपाले जनाएको छ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा केन्द्रीय समितिले कारबाहीको निर्णय गर्नेछ ।

मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ ।

श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान अगाडि बढाउन विज्ञले सुझाव दिएका छन् । आयोगले भने यस विषयमा निवेदन आए कारबाही अगाडि बढाउने जनाएको छ । यद्यपि, यस विषयमा औपचारिक छलफल हुन बाँकी नै रहेको आयोगका प्रवक्ता भोला दाहालको भनाइ छ ।

यस्तै, यस घटनामा सांसद श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनु पर्ने नेपाली कांग्रेसका सांसदले माग गरेका छन् ।
35
Shares
२८ चैत्र २०७९, मंगलवार ११:५१