काठमाडौं । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजी पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ।

पाँच दिनदेखि शान्तिबाटिकामा रहेका मिटरब्याजी पीडितले हिजो सरकारसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बिहान १० बजे पुन: वार्तामा बस्ने सहमति भएको हो ।

६ बुँदे माग राखेका उनीहरुले सरकारसँगको वार्ताका लागि समिति बनाएका छन् । पीडितहरुले सरकारसँग मिटरब्याज सम्बन्धित सबै फर्जी कागज मन्त्रिपरिषदबाटै निर्णय गराएर अवैध घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरब्याज सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्नेलगायका माग गरेका छन् ।

वार्ता आज पुनः बस्ने गरी हिजोको वार्ता सकिएको मिटरब्याजीविरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए । उनले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताए ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृह मन्त्रालयका सह-सचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
56
Shares
२७ चैत्र २०७९, सोमबार ०९:१४