भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।
यही चैत २७ देखि सुरु भइ वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, ‘खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने छ।’
जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरे। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरे।