काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र फुटबल क्लबले दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सातौं चरणमा दोस्रो जित निकालेको हो। यसअघि नेपाल पुलिस क्लबलाई पराजित गर्दै मच्छिन्द्रले पहिलो जित निकालेको थियो।

मछिन्द्रको जितमा विमल घर्ति मगर र ओलावाले आफिजले समान एक-एक गोल गरेका थिए। संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए। खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए। उक्त अग्रतानै कायम राख्न मछिन्द्र सफल हुँदा महत्वपूर्ण तीन अङ्क हासिल गर्न सफल भयो। जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ । मछिन्द्र सातौं स्थानमा उक्लिएको छ। संकटाको यो दोस्रो हार हो। संकटा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ।
35
Shares
२६ चैत्र २०७९, आईतवार १८:००