निर्माणाधीन उक्त अपार्टमेन्ट वरपरका अन्य ६ वटा घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ । एउटा पुरानो घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र बन्दै गरेको पाँच तले घरको एकतला भासिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
शनिबार राति दुई बजे जमिन भासिन थालेपछि भागदौड मच्चिएको थियो । स्थानीयकाअनुसार भागदौड मच्चिँदा केही मानिस घाइतेसमेत भएका छन् ।घटनापछि प्रमुख जिल्ला अधिकारी आचार्यसहित सुरक्षा अधिकारीको टोलीले घटनास्थलको अवलोकन गरेको थियो । घर भत्किएका र जोखिममा रहेका घरका परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको र उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बन्धित निकाय जुटेको प्रजिअ आचार्यले जनाए ।
जमिन भासिएको क्षेत्रमा ललितपुर महानगरपालिकाको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । प्राविधिक टोलीको अध्ययन रिपोर्टअनुसार आवश्यक कदम चालिने प्रजिअ आचार्यको भनाइ छ ।