विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।

मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालशले प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगबार पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो । पक्राउ परेको हकमा अदालतले आदेश गरेको हो ।

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्त्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो ।

105
Shares
२५ चैत्र २०७९, शनिबार १३:४३