सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए।
शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो। सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ।सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापन पत्रमा उल्लेख गरेको छ।
‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’