विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ ।पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित  छलफल गरेको छ ।

विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको बताए ।

मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए ।

उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । उनले पूर्ण खोप सुनिश्चित पालिका हुनु विराटनगर महानगरका लागि विकासको एउटा सूचक भएको उल्लेख गरे ।

पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

महानगरका १९ वटै वडाका ५ वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो । उनीहरुलाई पनि खोप लगाइसकेको खोप अधिकृत अमरदीपकुमार देवले जानकारी दिए ।

49
Shares
२३ चैत्र २०७९, बिहीबार १४:२६