जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्रीको निर्देशनपछि नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा लागेका छन्।

मधेस प्रदेशमा नेकपा एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन फिर्ता लिएको थिएन।

वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा एमालेले पनि आफ्नो उम्मेदवार उठाएपछि प्रदेश सरकारबाट बाहिरिन मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले आज राजीनामा दिन लागेको जानकारी दिए।

सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरूलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिन लागेको उनले बताए।

मधेस प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय नियुक्त भएका थिए।

70
Shares
२१ चैत्र २०७९, मंगलवार १५:१०