काठमाडौँ- ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन्।

इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन्।

फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ। गायनतर्फ १४० र नृत्यतर्फ १२० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ।

अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुबई, पूर्वी एशियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएका थिए भने नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौँमा फिल्ड अडिसन भइ प्रतिभा छनोट गरिएका थिए।

गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ जना तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौँबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौँ आइपुगेका छन्।

झण्डै यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौँ आएका छन्। उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ। संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।

नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीले नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’का लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ। श्रेष्ठसँगै सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन्।

त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शङ्कर विसी, नायक दिलीप रायमाझी, नायिका केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई निर्णायकका रूपमा अनुबन्धित भएका छन्।

फिल्ड अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीबाट आइतबारदेखि सुरु भएको साइटलेस अडिसनले ५० जनाको छनोट गर्ने जानकारी अध्यक्ष अधिकारीले बताए।

70
Shares
२१ चैत्र २०७९, मंगलवार १२:३१