काठमाडौँ ।चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।

मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रूपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताबारे बोर्डले केही दिन अगाडि सार्वजनिक सूचनासमेत निकालेको थियो। प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी विसं २०८० वैशाख १० गतेसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालय अथवा इमेल ([email protected])मार्फत् पेश गर्नुपर्नेछ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरूमध्ये उत्कृष्ट तीन चलचित्रहरूले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी रु. एक लाख पचास हजार, रु. एक लाख र रु. पचहत्तर हजार प्राप्त गर्नेछन्।

पुरस्कृत चलचित्रहरूलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ।

प्रतियोगितामा सहभागी हुने चलचित्रहरू कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतिशत चलचित्रकर्मीहरू नेपाली भएको हुनुपर्नेछ।

साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरूले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रहरूले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।

42
Shares
२१ चैत्र २०७९, मंगलवार १२:२९