काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ।

यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको हो।

अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन्।

कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ।

‘ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो। मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ’, सहायक प्रवक्ता अधिकारीले भने, ‘सर्नका लागि जति आलटाल गर्‍यो कामपालाई उत्तिनै घाटा लाग्छ। दुईतिर भाडा दिर्नुपर्छ, त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ।’

सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो। नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो।

42
Shares
२१ चैत्र २०७९, मंगलवार १२:२८