काठमाडौँ। चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी नियुक्त भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केसीलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन्। सोमबार मन्त्रालयमा पुगेर केसीले नियुक्तपत्र बुझेका छन्।

‘चलचित्र विकासमा आफ्नो योगदान दिने महत्वपूर्ण ठाउँमा आइपुगेको छु,’ नियुक्तिपत्र बुझेपछि देशसञ्चारसँग कुरा गर्दै निर्देशक केसीले भने। फिल्म ‘प्रेमपूजा’बाट अभिनय करिअर थालेका केसीले पहिलोपटक फिल्म ‘धर्ती’लाई निर्देशन गरेका थिए।

गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए। बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ।

बोर्डको अध्यक्षमा भुवन केसी कार्यरत छन्।
49
Shares
२१ चैत्र २०७९, मंगलवार १२:२४