काठमाडौँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ ।

एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा ९एमाले० लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लार्ई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ ।

अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने बताए । उपनिर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन प्रशासन प्रतिबद्ध रहेको बताए ।

77
Shares
१९ चैत्र २०७९, आईतवार २०:३२