महानगरले अपिल प्रकाशित गरी विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउन केही स्थानको सडकमा पार्किङ गर्न नदिने गरी निषेधित क्षेत्र बनाएको तर व्यापार व्यवसायमा असर परेको भन्दै निर्णय अवज्ञा गर्ने काम भएकोप्रति महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।
महानगर प्रमुख नागेश कोइरालाले एक अपिल प्रकाशित गरी व्यापार व्यवसायका लागि उचित वातावरण तयार पार्न महानगर प्रतिबद्ध रहेको पनि जनाएको छ ।अपिलमा यसअघि पार्किङ निषेध गरिएको स्थानबाहेक अन्यत्रको सडकमा तत्काल पार्किङ निषेध नगर्ने र त्यस्तो निर्णय गर्नु पर्ने अवस्था आएमा सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता जनाएको छ ।
महानगरले प्रकाशित गरेको अपिलमा प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगरपालिका लागिपरेको भन्दै विराटनगरलाई यथास्थितिमा राखिराख्न नसकिने जनाएको छ ।सबैको सामुहिक प्रयत्नबाट विराटनगरलाई व्यवस्थित र विकसित गर्न सकिने भन्दै त्यसमा सबैको अठोट आवश्यक रहेको महानगरले औंल्याएको छ । महानगरले पार्किङको वैकल्पिक व्यवस्था गरेर मात्र सडकलाई पार्किङ निषेधित बनाएको प्रष्ट पार्दै त्यसबाट आमसर्वसाधारणले सहजता अनुभूत गरेको स्मरण गराएको छ ।
विराटनगरको व्यापार प्रवर्द्धनका लागि सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि कडाइ गर्न प्रहरीलाई अनुरोध गर्दै, आम उपभोक्तालाई विराटनगरकै बजारमा किनमेल गर्नका लागि सचेतनामूलक सूचनाका माध्यमबाट सचेत गराउने कार्यमा महानगर लागिपर्ने अपिलमा उल्लेख गरिएको छ ।
विराटनगरलाई सफा, स्वच्छ, व्यवस्थित गर्ने अभियानमा सबै पक्षबाट साथ सहयोगका लागि पनि महानगरले सार्वजनिक रुपमा अपिल गरेको छ ।