काठमाडौं । साहित्यकार महेशराज खरेलद्वारा लिखित एवम् दोस्रो कृतिका रूपमा प्रकाशित उपन्यास ‘यात्रा जिन्दगीको’ को लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा मंगलबार उक्र कृति लोकार्पण गरिएको हो ।

उपन्यासकारकी नब्बे वर्षीय आमा अयुद्धा खरेलको जन्मदिनको अवसरमा आयोजित उक्त विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

पूर्वमन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि थिए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, प्रा. डा. गोविन्दराज भट्टराई विशेष अतिथि रहेको समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, डा. रजनी ढकाल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कोषाध्यक्ष गोपालकुमार मैनाली, उपन्यासकारकी जीवनसङ्गिनी सरोजा आचार्य खरेल, छोरी आर्या खरेल, छोरा अगृमराज खरेल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. मधुशूदन लामिछाने, मुकुन्द आर्याल, गायत्रीकुमार चापागाईँ, वरिष्ठ इन्जिनियरहरू खड्गबहादुर बस्नेत र द्रोण कोइराला, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायतको उपस्थिति थियो ।

यसैगरी उमेश उपाध्याय, डा. बुनु दाहाल, कृष्णप्रसाद दाहाल, मित्रलाल पंज्ञानी, चिन्तामणि सिवाकोटी, कृष्णदेव रिमाल, हरिकला उप्रेती, शार्दूल भट्टराई, पोषरमण चापागाईँ, विन्दु अधिकारी ढकाल, चन्दा खतिवडा, मणिराज सिंह, लक्ष्मीप्रसाद खरेल, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, परिवारका सदस्यहरू, बैङ्क तथा वित्तीय संस्थाका व्यक्तित्वहरूको पनि सहभागिता थियो ।

शब्द संयोजन साहित्यिक मासिकद्वारा आयोजना गरिएको उक्त विशेष समारोहको अध्यक्षता शब्द संयोजनका प्रकाशक एवम् वरिष्ठ कवि वासुदेव अधिकारीले गरेका थिए ।

शब्द संयोजनका प्रधान समपादक रमेश पोखरेलले सञ्चालन गरेको समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत सम्पूर्ण आदरणीय व्यक्तित्वलाई शब्द संयोजनकी कार्यकारी सम्पादक सुमी लोहनीले स्वागत गरेकी थिइन् ।

प्रमुख अतिथिले पानसमा बत्ती बालेर विशेष समारोहको उद्घाटन गरेपछि उपन्यासकारकी आमा अयुद्धा खरेल दिनमा नब्बे वर्ष पूरा गरी एकानब्बे वर्षमा प्रवेश गरेको अवसरमा दोसल्ला ओढाएर प्रमुख अतिथिले सम्मान गरेका थिए ।

उपस्थित अतिथिहरूलाई साहित्यकार डम्बर पहाडीले खादा लगाएर सम्मान गरेका थिए । उपन्यासकारकी छोरी आर्या खरेलले उपन्यासकार पक्षाघात भएर थला परेपछि बिरामी भुल्न र लेखनकार्यमा सहजता थपिदिन दाहिने हातको चल्ने चोर औँलाले टाइप गर्न मिल्नेगरी मोबाइलमा युनिकोड फन्ट डाउनलोड गरेर बुबालाई साहित्य सिर्जनामा समर्पित हुने प्रेरणा प्रदान गरेकाले सभाध्यक्षले माल्यार्पण गरी उनको सम्मान गरेका थिए ।

प्रमुख अतिथि, विशिष्ट अतिथि, उपन्यासकार, टिप्पणीकारद्वय र उपन्यासकारकी जीवन सङगिनीले संयुक्तरूपमा उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण गरेका थिए ।

लोकार्पित उपन्यास ‘यात्रा जिन्दगीको’माथि डा. फणीन्द्रराज निरौलाले उपन्यासकारको विगतदेखि वर्तमानसम्मको व्यक्तित्व, हुनेखाने परिवार कसरी आफन्त तथा इष्टमित्रबाटै तिरस्कृत हुनेसम्मको अवस्थामा पुग्यो भन्नेसम्मको यथार्थलाई उपन्यासकारले इमानका साथ प्रस्तुत गरेको भन्दै चर्चा गरिएको थियो ।

डा. रजनी ढकालले पुनरावृत्ति नगरी उपन्यासकार तथा परिवारले भोगेको विगतदेखि वर्तमानसम्मको जीवनका साथै कोरोनाकहरको सन्दर्भसमेत जोडेर उनकी अत्यन्त साहसी आमालाई विम्ब बनाएर यो उपन्यास लेखिएको उल्लेख गरिन् ।

पचास वर्षअगाडिको पूर्वी पहाडको समाज र त्यहाँ हुर्किएको रूपान्तरणको चेतना, आधुनिक पद्धति स्थापना गर्न गरिएका प्रयत्न, समाज परिवर्तनका निम्ति अवलम्बन गरिएको शैली, परम्परागत शैलीकै रूपमा भए पनि हजुरआमाहरूले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका उपन्यासमा अत्यन्त सशक्तढङ्गले उजागर गरिएको छ ।

उपन्यास आमाको त्याग, बलिदान तथा समर्पणको सम्मानका लागि लेखिएको जीवनको आशावादी यात्राका रूपमा चित्रित छ । आमालाई केन्द्र बनाएर लेखिएको यो उपन्यासले बसाइँ सराइको जीवन्त चित्र उतारेको छ ।

यहाँ मानिस मात्र बसाइँ सरेका होइनन् त्यो यात्रामा भैँसी र कुकुरसमेत सामेल छन् ।

पक्षाघातको सिकार भएर थला परेपछि दाहिने हातको चोर औँलाले मोबाइलमा टाइप गरेर तेत्तिसओटा उपशीर्षकमा विभक्त गरी यति ठुलो आकारमा लेखिएको यो उपन्यासमा घटनाको संयोजन कौसल सुन्दर देखापर्छ ।

उपन्यासको भूमिका लेख्नुहुने उपन्यासकारका गुरु प्रा. डा. गोविन्दराज भट्टराईले लेखेको कुरा मात्र जीवनपछि पनि रहिरहने भएकाले लेख्ने प्रेरणा दिएको बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले उपन्यासले सामाजिक यथार्थवादलाई अँगालेको र रूपान्तणको स्पष्ट सन्देश सम्प्रेषण गर्दै विधाभञ्जनको शैली अवलम्बन गरेको बताए ।

588
Shares
१५ चैत्र २०७९, बुधबार १८:३१