विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचानवादीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचानवादीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन ४४ सेल अश्रुग्यास प्रहार गरेको छ । २९ राउन्ड हवाई फायर पनि गरेको मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

यस्तै प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ जना घाइते भएका छन् भने पहिचानवादीतर्फ नौजना घाइते भएका छन् । दुवैतर्फ मिलाएर २७ जना घाइते भएका हुन् । यसैगरी मोरङको उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कार्यकक्षमै आन्दोलनकारीले आक्रमण गरेका छन् भने अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् ।

गत फागुन १७ गते प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । अघिल्लो कार्यकालको पाँच वर्ष नामकरण गर्न नसकेको प्रदेशसभाको दोस्रो कार्यकालको औपचारिक सुरुवात भएको ६२औं दिनमा प्रदेश १ ले कोशी नाम पाएको थियो ।

उक्त नामप्रति पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै पुनः नामकरणको माग गर्दै आएका छन् । पहिचानका आधारमा नाम राख्न माग गर्दै यही चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट सिकिस्त घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । उनको मृत्युपछि पहिचान पक्षधर समूहले आन्दोलनलाई झनै चर्काउँदै लगेका छन् ।
315
Shares
१४ चैत्र २०७९, मंगलवार २१:२७