अन्नपूर्ण र सगरमाथापछि मात्रै चहलपहल बढ्ने कञ्चनजंघा क्षेत्रको घुन्सा बेसक्याम्पमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेको स्थानीय बताउँछन् ।
पर्यटन मन्त्रालयले कञ्चनजंघा हिमाल आरोहीको संख्या यकिन गरिसकेको छैन । तर, यो सिजनमा ५० देखि ६० जनासम्म त विदेशी आरोही मात्रै हुने इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पा बताउँछन् ।कञ्चनजंघा हिमालमा व्यवसायी स्वयंले बाटो बनाउनुपर्ने भएकाले कतिको संख्यामा आरोही हुन्छन् भन्ने प्रारम्भिक तथ्यांक निकालिएको उनले बताए । उनको कम्पनीबाट पनि यो वर्ष दर्जन बढी विदेशी आरोही छन् ।
पैदलमार्ग खराब भएकाले उनीहरूका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि उनले बताए । आरोही, सहयोगी, खाना पकाउने, बाटो बनाउने शेर्पासमेत गरी अर्को सातादेखि तीन सयको हाराहारीमा बेसक्याम्पमा उपस्थिति हुने अनुमान मिङमा डेभिडको छ ।कोरोना संक्रमणका कारण २०७५ देखि ०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गतवर्ष आरोहण भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तै विदेशी आरोही रहेको व्यवसायी बताउँछन् ।
कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मन, इरान, जापानलगायतबाट ट्रेकिङ गर्नेहरूचाहिँ घुन्सा पुगेका छन् । साउथ र नर्थ दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि नर्थबाट आरोहण गर्ने कोही पनि नभएको टाँसीले बताए ।