विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।
जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए ।विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।
५९ औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनीश देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८७ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले निकालेको क्रस पासलाई अभिषेक गुरुङले गोल गरी टिमको लागि विजय गोल गरे ।लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो ।
९ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनीश देउलाले उत्कृष्ट बचाए । १७ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए । त्यसलगैत एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।
२७ औ मिनेटमा विमलले निकालेको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।५३ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले विफल पारिदिए । ७० औँ मिनेटमा विराटनगरका अभिषेक गुरुङले गरेको कडा प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो ।
खेलको ८९ औँ मिनेटमा जावलाखेलका कप्तान सीमन्त थापाको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए । खेलको अन्ततिर जावलाखेल समालिन् नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए । म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।